- Loading...
शिक्षक सेवा आयोग तयारी सम्बधि प्रभावकारी टिप्स
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ९६ पटक पढिएको

शिक्षक सेवा आयोगले मङ्सिर पहिलो साता स्थायी शिक्षकको विज्ञापन गर्दैछ । परीक्षाको तयारी, सामग्री संकलन, समय व्यवस्थापन, कमजोरी सुधार, विषयगत र वस्तुगत प्रश्नपत्र तयारी र परीक्षा लेखनको अभ्यास, वास्तविक पाठ्यक्रमको अध्ययन, लेखनकार्यको संगठन र विभिन्न हल्लाका पछि कुद्ने बानी आदिले हातमा आएको सफलता गुम्न सक्छ। त्यसैले धैर्य भएर अहिले बाटै परिक्षाको तयारी गर्नु बेश हुन्छ।
तपाईंका प्रतिस्पर्धी को ?
परीक्षाको आवेदन दिने विद्यार्थीको संख्या अधिक हुन्छ। त्यो देखेर आत्तिनु पर्दैन। केही वर्ष अघि पूर्वाञ्चलमा सामाजिक विषयको परीक्षामा उत्तीर्णाङ्क नल्याउनेको संख्या करिब ५० प्रतिशत थियो। अन्य विषयमा पनि फारम भर्नेमध्ये करिब ५० प्रतिशतले उत्तीर्णाङ्क ल्याउँदैनन्। तपार्ईंका प्रतिस्पर्धी ती ५० प्रतिशत होइनन्।
बाँकी ५० प्रतिशतमध्ये ४० देखि ५० प्रतिशत अंक ल्याउनेको संख्या करिब ३० प्रतिशत हुन्छ। बाँकी २० प्रतिशतले मात्र ५० भन्दा माथि अंक ल्याउने सम्भावना रहन्छ। वास्तवमा तपाईंले फारम भर्नेमध्ये १० देखि २० प्रतिशतसँग अन्तिम लडाइँ लड्ने गरी तयारी गर्नुपर्छ। परीक्षार्थीमध्ये धेरैले अनुभवका लागि भन्दै फारम भरेका हुन्छन् भने कतिपयले शिक्षाशास्त्र संकाय अध्ययन गरेको वा अध्यापन अनुमतिपत्र भएको आधारमा मात्र परीक्षामा सामेल भएका हुन्छन्। त्यस्तै, बजारमा पाइने कुनै एक वा दुई पुस्तक किनेर सामान्य अध्ययन गर्ने पनि वास्तविक प्रतिस्पर्धी पनि हुन सक्दैनन्।
वस्तुगत परीक्षा, भ्रम र निराकरण
हामी धेरैजसो वस्तुगत परीक्षाका लागि बजारमा पाइने एकदुई पुस्तकमा भरमा नमुना प्रश्नोत्तर बढीभन्दा बढी याद गर्नेतर्फ लाग्छौं। प्रश्न निर्माण गर्दा नमुना प्रश्नोत्तरबाट गरिँदैन। पाठ्यक्रमअगाडि राखेर त्यससँग सम्बन्धित विषयवस्तुमा आधारित पुस्तक, ऐन, नियम, नियमावली आदिबाट गरिन्छ। त्यसैले, वस्तुगत परीक्षाको तयारीका लागि बढीभन्दा बढी विषयवस्तुलाई समेट्ने आधिकारिक पुस्तक अध्ययन गर्नुपर्छ। जस्तैः शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९, शिक्षक सेवा आयोग नियमावली २०५७, नेपालको संविधान २०७२ (संशोधनसहित) आयोगका प्रतिवेदनहरूको सँगालो आदि।
लिखित परीक्षाको मूल धर्म प्रश्नानुसार व्यवस्थित उत्तर लेखन नै हो। परीक्षाअगाडि समयानुसार लेखन अभ्यास पटकपटक गर्नु नै तपाईंको नाम सिफारिसको आधार बन्न सक्छ।
यसरी तयारी गर्दा पाठ्यक्रमले तोकेका वास्तविक कुराको अध्ययन विस्तृत रूपमा हुने, गलत तथ्यांकबाट बच्न सकिने र पर्याप्त विषयवस्तुको अध्ययन पनि हुन्छ। त्यसैले, सामग्री संकलनमा ध्यान दिनुपर्छ। आवश्यकभन्दा बढी सामग्री संकलनले पनि समस्या पैदा गर्छ।
स्मरण कसरी ?
हामी धेरैको बानी पढ्ने अनि पढेको कुरा चाँडै बिर्सने हुन्छ। एउटा तथ्यांक वा मितिलाई अर्कोसँग गलत हुने गरी प्रयोग गर्ने हुन्छ। त्यसबाट बच्न तयारी गर्दा महत्वपूर्ण घटना, मिति, तथ्य, विषयवस्तुलाई आफ्नो नोटकपीमा टिपोट गर्नुपर्छ र बारम्बार दोहो¥याउनुपर्छ। दोहो¥याउँदा पनि लेख्ने, सूत्र बनाउने, टेबल बनाएर भित्तामा टाँसेर पढिरहने बानी बसाल्नुपर्छ। नलेखी एकोहोरो किताब मात्र पढिरहनु समयको बर्बादी मात्र हुन्छ।
एकभन्दा बढी पुस्तकको अध्ययन गर्दा पाइएका नयाँ कुराहरूलाई नोटमा तुरुन्त टिपोट गर्नुपर्छ। वस्तुगत प्रश्नको विकल्प छनोट गर्दा प्रश्नको विश्लेषण गरी गलत विकल्प पत्ता लगाएर त्यसपछि मात्र सही विकल्पमा पुग्नु पर्छ। तर हाम्रो मस्तिष्क सही कुन भन्नेतर्फ जान्छ। गलत कुन हो भन्नेतर्फ नलाग्दा उस्तै लाग्ने अर्को गलत विकल्पको छनोटमा फस्ने डर हुन्छ।
योगनिधि भट्टराई
(शिक्षक सेवा आयोगले २०७० सालमा सञ्चालन गरेको परीक्षामा इलामबाट मावि, निमावि र प्रावि तीनै तहमा नाम निकालेका भट्टराई हाल विद्यालय निरीक्षक पदमा कार्यरत छन्।) खबरसेन्टरबाट साभार गरिएको सामग्री
सामाजिक सञ्जाल तिर

