FLASH NEWS
  • Loading...

गौरीशंकर माविका ४० शिक्षकलाई ल्यापटप वितरण

प्रतिथान ७३ हजार ७५० रुपैयाँको दरले २९ लाख ५० हजारमा ४० थान ल्यापटप खरिद गरी शिक्षकलाई वितरण
गौरीशंकर माविका ४० शिक्षकलाई ल्यापटप वितरण

बाराको निजगढ नगरपालिका- ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप वितरण गरेको छ । आधुनिक शिक्षामा जोड दिँदै शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो ।

सामाजिक सञ्जाल तिर

नमुना विद्यालय विकास कार्यक्रममा रहेको ‘शिक्षकसँग ल्यापटप’ कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयले जनाएको छ । ६५ जना शिक्षक कार्यरत रहेको यस विद्यालयले पहिलाे चरणमा ४० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिएको हो ।

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नका लागि विद्यालयले आफ्नाे विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक बद्रीनारायण झाले बताए । उनले भने, ‘विद्यार्थी तथा शिक्षकको सिकाइ तथा क्षमता अभिवृद्धि गर्न नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षकलाई ४० वटा ल्यापटप वितरण गरिएको छ।’

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाले शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका थिए । ल्यापटप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रविकुमार बर्तौलाले भने, ‘शिक्षामा सुधार हुन नसके नगर र देश समृद्ध नहुने हुँदा गुणस्तरीय शिक्षाप्रति आफू सधैँ चिन्तित रहेको हुँदा विद्यालयले प्रविधिको प्रयोग गर्दै शिक्षक र विद्यालयलाई प्रविधिमैत्री बनाउँदै जाने योजनाअनुसार नै सुरुवातमा ४० जना शिक्षकलाई ल्यापटप प्रदान गरेका छौँ, अब सबै शिक्षकलाई ल्यापटप दिएपछि पठनपाठन प्रभावकारी हुने विश्वास लिएका छौँ ।’

कक्षा ४ देखि १२ सम्म कम्प्युटर शिक्षा अध्ययन हुँदै आएकाे यस विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाइ हुन्छ ।  त्यहाँ करिब दुई हजार २५० विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले प्राविधिक धारतर्फका विद्यार्थीलाई स्मार्टबोर्ड र प्रोजेक्टरमार्फत पढाइ गर्ने तयरीमा रहेको जनाएको छ । प्रतिथान ७३ हजार ७५० रुपैयाँको दरले करिब २९ लाख ५० हजारमा ल्यापटप खरिद गरी आइतबार शिक्षकहरूलाई वितरण गरिएको विद्यालयले जनाएको छ ।

नयाँ पत्रिका

प्रकाशित मिति: २०८१ अषाढ ३२, सोमबार