FLASH NEWS
  • Loading...

विद्यार्थी भर्ना अभियान सुरु, शिक्षक भने १४ दिन देखी सडकमै

विद्यार्थी भर्ना अभियान सुरु, शिक्षक भने १४ दिन देखी सडकमै

|विद्यालय शिक्षा ऐन जारीको माग राख्दै आन्दोलनरत शिक्षकहरु

काठमाण्डौ : नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान शुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान शुरू भएको हो । तर शिक्षक भने चैत २० गते देखि निरन्तर सडक आन्दोलनमा छन ।

सामाजिक सञ्जाल तिर

विद्यार्थी भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले नेपालको झन्डै २० प्रतिशत जनसङ्ख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि शिक्षा सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विद्यार्थी टिकाउ दरमा अझै सुधार आवश्यक रहेको बताउँदै सीपमूलक, व्यावसायिक तथा प्राविधिक शिक्षामा लगानी बढाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

यस्तै आन्दोलनरत शिक्षकहरूप्रति सङ्केत गर्दै प्रधानमन्त्री ओलीले न्यायपूर्ण मागहरूको सम्बोधनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक सन्देशमार्फत सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्न सरकार, अभिभावक, शिक्षक र समग्र समाजको सक्रिय सहभागिता आवश्यक भएको बताउनुभएको छ ।

मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकाससँगै रैथाने ज्ञान र सीपको संरक्षण गर्दै भावी पुस्तालाई उत्तरदायी, विवेकी नागरिक बनाउन शिक्षाको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

नयाँ शैक्षिकसत्र शुरू हुने समयमा लाखौं शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाण्डौमा आन्दोलित छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा सहभागी हुन शिक्षमन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २, मंगलबार