FLASH NEWS
  • Loading...

मन्त्रिपरिषद्कै सर्वाधिक धनी मन्त्रीका रूपमा शिक्षामन्त्री पोखरेल

मन्त्रिपरिषद्कै सर्वाधिक धनी मन्त्रीका रूपमा शिक्षामन्त्री पोखरेल

काठमाडौं । 

​मन्त्रिपरिषद्का सदस्यहरूमध्ये शिक्षामन्त्री सस्मित पोखरेल सबैभन्दा धनी मन्त्रीको रूपमा देखिएका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार उनको कूल सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको छ, जसमा ७५ लाख रुपैयाँ ऋण घटाएर खुद सम्पत्तिको हिसाब निकालिएको छ। उनको सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा घरजग्गामा रहेको देखिन्छ। काठमाडौँ क्षेत्र नम्बर ४ मा चार करोड र कागेश्वर मनहरामा पाँच करोड रुपैयाँ मूल्य पर्ने गरी उनीसँग काठमाडौँमै दुईवटा घरहरू रहेका छन्।

​घरबाहेक पाँच विभिन्न स्थानमा उनको करोडौँ मूल्य बराबरको जग्गा जमिन रहेको छ। विवरण अनुसार काठमाडौँ ४ मा साढे दुई करोड, विराटनगरमा एक करोड, ललितपुरको गोदावरीमा साढे ६ करोड (दुई फरक ठाउँमा गरी), र काठमाडौँको गोकर्णेश्वरमा डेढ करोड मूल्य बराबरको जग्गा मन्त्री पोखरसँग छ। अचल सम्पत्तिसँगै उनले २५ तोला सुन, एक सय तोला चाँदी र करिब ७५ लाख रुपैयाँ बराबरको गहना तथा नगद विवरण पनि खुलाएका छन्।

​यद्यपि, उनको बैंक मौज्दात भने तुलनात्मक रूपमा निकै कम अर्थात् ४ लाख ४७ हजार रुपैयाँ मात्र देखिएको छ। नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी रहेका उनका बुबा रमेशकुमार पोखरेलको नाममा विभिन्न कम्पनीहरूको सेयर लगानी समेत रहेको विवरणमा उल्लेख छ। यसरी घरजग्गा र सुनचाँदीमा भएको ठूलो लगानीले उनलाई वर्तमान सरकारको सबैभन्दा सम्पन्न मन्त्रीका रूपमा उभ्याएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार