- Loading...
प्रसिद्ध मावि बकैयाको स्वर्ण जयन्ती समारोह सम्पन्न

- शिक्षापाटि विद्यालय गतिविधि
- १९४ पटक पढिएको
- बकैया, मकवानपुर
मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १०, मन्थलीमा अवस्थित श्री प्रसिद्ध माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ऐतिहासिक ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती तथा ५०औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ। “गुणस्तरीय शिक्षा, उज्ज्वल भविष्यको आधार” भन्ने मूल संकल्पका साथ आयोजित यो उत्सवले स्थानीय स्तरमा शैक्षिक जागरण र विद्यालयको गरिमालाई थप उचाइमा पुर्याएको छ। दुई दिनसम्म चलेको उक्त विशेष समारोहमा विद्यालयको विगत आधा सताब्दिको यात्रालाई स्मरण गर्दै आगामी शैक्षिक लक्ष्यका बारेमा समेत मन्थन गरिएको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले पानसमा दीप प्रज्वलन र विद्यालय प्राङ्गणमा नवनिर्मित ‘स्वर्ण स्तम्भ’को अनावरण गरेर गर्नुभएको थियो। अनावरण पश्चात् आयोजित औपचारिक सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले प्रसिद्ध माध्यमिक विद्यालयले यस दुर्गम क्षेत्रमा शिक्षाको ज्योति फैलाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भौतिक पूर्वाधारको विकाससँगै अबको ध्यान प्रविधिमैत्री र व्यावहारिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले विद्यालयको अधुरो सपना पूरा गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

समारोहमा विशिष्ट अतिथिको रूपमा बोल्दै बागमती प्रदेशका माननीय प्रेम बहादुर पुलामी (छिन्तु) ले विद्यालयको ५० वर्षको इतिहासले यस क्षेत्रको सामाजिक परिवर्तनमा ठुलो योगदान दिएको चर्चा गर्नुभयो। त्यस्तै, विशेष अतिथि बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको र विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकार सधैँ साथमा रहने विश्वास दिलाउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाल बहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन र आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो।

उत्सवको मुख्य आकर्षणको रूपमा विद्यार्थीहरूद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक झलकहरू रहेका थिए। मौलिक नेपाली पोसाकमा सजिएका विद्यार्थीहरूले राष्ट्रिय भावनाले ओतप्रोत नृत्य, गीत र नाटक प्रस्तुत गरेर उपस्थित पाहुना तथा अभिभावकहरूलाई मन्त्रमुग्ध पारेका थिए।
सोही अवसरमा विद्यालयको ५० वर्षे लामो इतिहासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो। जसमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू, विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने चन्दादाताहरू र उत्कृष्ट सेवा प्रदान गर्ने शिक्षक तथा कर्मचारीहरूलाई कदर-पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, विद्यालयबाट माध्यमिक तह (SEE/SLC) उत्तीर्ण गरी विभिन्न क्षेत्रमा सफल भएका पूर्व विद्यार्थीहरूलाई पनि विद्यालयले गौरवान्वित हुँदै सम्मानित गरेको थियो।

स्वर्ण जयन्तीको यो उल्लासमय वातावरणले विद्यालय, अभिभावक र समुदायबिचको सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्थ्यो। कार्यक्रमको समापन गर्दै सभाध्यक्ष डाल बहादुर खड्काले विद्यालयलाई यो उचाइसम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयलाई नमुना माध्यमिक विद्यालयको रूपमा विकास गर्ने संकल्प व्यक्त गर्नुभयो।
थप तस्वीरहरु














