FLASH NEWS
  • Loading...

प्राकृतिक विपद्का कारण भदौ १३ देखिका सबै विश्वविद्यालयका परीक्षा स्थगित, १२ गते छुटेकालाई पुनः अवसर

प्राकृतिक विपद्का कारण भदौ १३ देखिका सबै विश्वविद्यालयका परीक्षा स्थगित, १२ गते छुटेकालाई पुनः अवसर

काठमाडौँ।

मुलुकमा उत्पन्न प्राकृतिक विपद् र प्रतिकूल परिस्थितिका कारण भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू स्थगित भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनअनुसार अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई तत्काल परीक्षा स्थगित गर्न निर्देशन दिएको हो।

​साथै, विपद्का कारण भदौ १२ गते निर्धारित परीक्षामा सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको प्रबन्ध मिलाउन समेत मन्त्री सस्मित पोखरेलले निर्देशन दिनुभएको छ।

​मन्त्रालयले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्दै विश्वविद्यालयहरूलाई तत्काल कार्यान्वयनका लागि पाँचबुँदे विशेष निर्देशन जारी गरेको छ:

​१. संशोधित परीक्षा तालिका: तत्कालका लागि सबै परीक्षा स्थगित गर्ने र सहज परिस्थिति बनेपछि उपयुक्त समयमा नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने।

​२. सामूहिक कार्यक्रम स्थगन: अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने।

​३. सम्पर्क र समन्वय: विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकहरूसँग विश्वविद्यालय र आंगिक/सम्बद्ध क्याम्पसमार्फत निरन्तर सम्पर्क राखी आवश्यक सहयोग र सहजीकरण गर्ने।

​४. मनोसामाजिक परामर्श: विपद्का कारण मानसिक तनावमा परेका विद्यार्थी तथा आवश्यकता अनुसार अभिभावकहरूका लागि मनोसामाजिक परामर्शको प्रबन्ध मिलाउने।

​५. शैक्षिक निरन्तरता: विपद्का कारण पठनपाठनमा परेको असर न्यूनीकरण गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्न आवश्यक वैकल्पिक व्यवस्था गर्ने।

​शिक्षामन्त्री पोखरेलले संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सबै विश्वविद्यालय प्रशासनलाई आ–आफ्नो तहबाट आवश्यक निर्णय लिई तत्काल कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार