शिक्षा पाटी
असार -२५, अछाम, मङ्गलसेन ।
“छोरीले आमालाई बोकेर अस्पताल लैजाँदै छिन्” भन्ने एउटा साधारण वाक्यजस्तो लागे पनि अछामको मङ्गलसेन नगरपालिका–५ की रसिला टमट्टाको जीवनमा यो संघर्षको कथामात्र होइन, सिंगो देशको दुर्गम भेगको पीडाको प्रतिनिधि चित्र हो।
८० वर्षीया आमाको स्वास्थ्य अवस्था गम्भीर भएपछि रसिलाले बाँसको सहारामा ढाडमा बोकेर अस्पतालसम्मको यात्रा सुरु गरिन्। तर त्यो यात्रा सहज थिएन — वर्षात्ले सडक हिलाम्मे बनेको थियो, जताततै चिप्लो माटो, ठूला ढुंगा र पहिरोको डर थियो। सवारीसाधन पुग्न नसक्ने यस्तो बाटोमा रसिलाले आमालाई बोकेर अघि बढ्नु हरेक आम छोरीको माया र हिम्मतको जीउँदो उदाहरण हो।
“रूवाउने गरी बोल्दिन, आमालाई पुर्याउन सके मात्र खुसी लाग्छ”
रसिलाको अनुहारमा न थकाइ थियो, न गुनासो, थियो त केवल कर्तव्य र मायाको बोझ। उनले भनिन्, “आमालाई यसरी बोक्नु सजिलो छैन तर घरमा राखेर बस्न सकिन्न। हिड्न नसक्ने भएपछि यसै गरेर ल्याउनु परेको हो।”
सडक छैन, सेवाको पहुँच छैन
यो दृश्यले दुर्गम भेगमा पूर्वाधारको अभाव कति गम्भीर छ भन्ने कुरामा ठूलो प्रश्न उठाएको छ। हरेक वर्षाको मौसमसँगै यस्ता पीडादायक घटना सतहमा आउने भए पनि समाधान भने कहिल्यै स्थायी देखिँदैन।
मङ्गलसेन नगरपालिका लगायत अछामका दर्जनौँ वडामा अझै पनि एम्बुलेन्स पुग्ने अवस्था छैन। सडक नभएकोले न गर्भवती महिलाहरू अस्पताल पुग्न सक्छन्, न आकस्मिक बिरामीको उपचार सहज हुन्छ।
स्थानीय सरकारको भूमिकामा प्रश्न
यस्ता घटनाले स्थानीय सरकार र नीतिनिर्माताको संवेदनशीलता माथि पनि प्रश्न उठाउँछ। सडक, स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र जस्ता आधारभूत कुराको पहुँच नहुँदा रसिलाजस्ता हजारौँ नागरिक बाध्यताको भारी बोक्दै छन्।
📸 तस्बिर: सुशील भण्डारी / राष्ट्रिय समाचार समिति (RSS)














