- Loading...
महानगर अधिकृतद्वारा शिक्षकमाथि अभद्र व्यवहार, कार्यक्रम विवादमा

- Rajau Kalauniपत्रपत्रिका
- ३१९२ पटक पढिएको

सामाजिक सञ्जाल तिर
काठमाडौं | २०८२ कार्तिक
काठमाडौं महानगरपालिकाद्वारा पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनीमार्गमा आयोजित ‘बुक फ्री फ्राइडे अभिमुखिकरण कार्यक्रम’ विवादमा परेको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूले महानगरका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीले शिक्षकप्रति अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाएका छन्।
‘बुक फ्री फ्राइडे’ अन्तर्गत फोकल टिचरहरूलाई लक्षित गरी गरिएको प्रशिक्षण कार्यक्रममा, सुवेदीले छलफलका क्रममा एक शिक्षकलाई “तपाईं बुढो मान्छे, केही गर्न सक्नुहुन्न”, “पढाइको हैसियत के हो?” र “कुन तहमा कार्यरत हुनुहुन्छ?” जस्ता अभद्र अभिव्यक्ति प्रयोग गरेको सहभागीहरूले बताएका छन्।
शिक्षकहरूको भनाइ अनुसार, सो व्यवहारले शिक्षकको आत्मसम्मानमा ठेस पुर्याएको र विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर पारेको छ।
उनीहरूले काठमाडौं महानगरसँग घटनाको निष्पक्ष छानबिन र संलग्न अधिकृतमाथि अनुशासनात्मक कारबाही गर्न माग गरेका छन्।
घटना विद्यालयको सभाहलमा भएको हो। विद्यालय समुदाय र सहभागी शिक्षकहरूले यस्तो व्यवहारलाई “असह्य” र “अभद्र” भन्दै खुला विरोध जनाएका छन्।
यसैबीच, शिक्षा स्वास्थ्य समिति संयोजक तथा काठमाडौं महानगरपालिका–२२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले शिक्षकलाई सान्त्वना दिँदै, घटनाबारे महानगरलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।
महर्जनले सो घटनालाई दुर्भाग्यपूर्ण भन्दै भने —
“शिक्षक शिक्षण क्षेत्रका आधारस्तम्भ हुन्, यस्तो घटना पुनः नदोहरियोस् भन्नेमा हामी प्रतिबद्ध छौं।”
उनका अनुसार, महानगरले घटनाबाट सिक्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने आश्वासन दिएका छन्।












