FLASH NEWS
  • Loading...

वडाअध्यक्षले शिक्षकलाई बन्धक बनाएर कुटपिट गरे, अध्यक्षलाई पार्टीले गर्यो निलम्बन

वडाध्यक्षले शिक्षकलाई नग्न पारेर वडा कार्यालयमै कुटपिट भिडियो सार्वजनिक भएपछि देशभर आक्रोश माओवादी केन्द्रले वडाध्यक्षलाई ६ महिनाका लागि निलम्बन
  • शिक्षापाटि समाचार
  • ५५६८ पटक पढिएको
वडाअध्यक्षले शिक्षकलाई बन्धक बनाएर कुटपिट गरे, अध्यक्षलाई पार्टीले गर्यो निलम्बन

रौतहट : जनप्रतिनिधिको हैसियतमा जनताको सेवा र न्यायको जिम्मेवारी पाउने वडाध्यक्ष आफैंले एक शिक्षकलाई बन्धक बनाएर नग्न पारेर कुटपिट गरेको घटना सार्वजनिक भएपछि स्थानीय तहको राजनीतिक संस्कृतिप्रति गम्भीर प्रश्न उठेको छ।

सामाजिक सञ्जाल तिर

बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले शिक्षक नागेश्वर यादवलाई करिब आठ जनाको समूहसहित वडा कार्यालयमै निर्घात कुटपिट गरेका थिए। मदिरा सेवन गरेका अवस्थामा कुशवाहाले शिक्षकलाई नग्न बनाएर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै घटनाले देशभर आक्रोश पैदा गरेको छ।

घटना बाहिरिएलगत्तै नेकपा (माओवादी केन्द्र) ले कुशवाहालाई पार्टी सदस्यता ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। तर, जनप्रतिनिधिको गैरजिम्मेवार व्यवहारमा केवल पार्टी निलम्बन पर्याप्त हुन्छ कि हुँदैन भन्ने विषयमा बहस चर्किएको छ। स्थानीयले उनीमाथि कानुनी कारबाही समेत गर्न माग गरिरहेका छन्।

यस घटनाले शिक्षकहरूको सुरक्षा र सम्मानको प्रश्नलाई पनि सतहमा ल्याएको छ। शिक्षकलाई अपमानित गर्दै शारीरिक तथा मानसिक यातना दिनु केवल व्यक्तिगत विवाद नभई शिक्षाप्रति नै अपमानित दृष्टिकोणको प्रतिबिम्ब भएको विज्ञहरूको भनाइ छ।

विश्लेषकहरू भन्छन्, “स्थानीय तहमा देखिने शक्ति दुरुपयोग, मदिरा संस्कृति र राजनीतिक संरक्षणको प्रवृत्ति नियन्त्रण नगरेसम्म यस्ता घटना पुनः दोहोरिन सक्छन्।”

यससँगै घटनाले राजनीतिक दलहरूको आन्तरिक अनुशासन, जनप्रतिनिधिको नैतिक जिम्मेवारी र पीडितलाई न्याय दिलाउने प्रक्रियामा राज्य संयन्त्रको भूमिकालाई पुनः मूल्यांकन गर्नुपर्ने माग उब्जाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार