FLASH NEWS
  • Loading...

शतलिङ्गेश्वर माविको नेतृत्वमा तितुङ र बमजन: शैक्षिक सुधार र दलीय हस्तक्षेपमुक्त विद्यालय बनाउने संकल्प

  • शिक्षापाटि समाचार
  • २८४५ पटक पढिएको
शतलिङ्गेश्वर माविको नेतृत्वमा तितुङ र बमजन: शैक्षिक सुधार र दलीय हस्तक्षेपमुक्त विद्यालय बनाउने संकल्प

रामेछाप ।

​रामेछापको सुनापतीस्थित श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षक–अभिभावक संघ (पीटीए) ले नयाँ नेतृत्व पाएको छ। हालै सम्पन्न प्रक्रियाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोम बहादुर तितुङ र शिक्षक–अभिभावक संघको अध्यक्षमा सन्त बहादुर बमजन निर्वाचित हुनुभएको हो।

​नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्थानीयस्तरमा शैक्षिक उत्साह छाएको छ।

विद्यालयमा दलीय राजनीति निषेध: प्रधानमन्त्री बालेनको मार्गचित्र

​नयाँ नेतृत्वको आगमनसँगै सुनापती क्षेत्रको शैक्षिक विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। विशेषगरी काठमाडौं महानगरपालिकाको पूर्व मेयरको रूपमा विद्यालय सुधारमा अभूतपूर्व क्रान्ति ल्याएका र हालका प्रधानमन्त्री बालेन शाहले अघि सारेको “राजनीतिमुक्त विद्यालय” को अवधारणालाई शतलिङ्गेश्वर माविले पनि दृढताका साथ अगाडि बढाउने देखिएको छ।

​विद्यालय प्रशासन र नवनिर्वाचित समितिले विद्यालय हाताभित्र कुनै पनि विद्यार्थी संगठन खोल्न नदिनेदलका राजनीतिक कार्यक्रमहरू पूर्ण रूपमा निषेध गर्ने नीतिलाई कडाइका साथ लागू गर्ने जनाएको छ। शिक्षा क्षेत्रलाई दलीय स्वार्थबाट टाढा राखेर मात्रै गुणस्तरीय नतिजा ल्याउन सकिने प्रधानमन्त्री बालेनको अडानलाई यस विद्यालयले पनि आफ्नो मुख्य एजेन्डा बनाएको छ।

गुणस्तरीय शिक्षा र अनुशासनमा जोड

​अध्यक्ष द्वय तितुङ र बमजनको सक्षम नेतृत्व र दूरदर्शी सोचबाट विद्यालयको शैक्षिक स्तर उकासिने र अनुशासन सुदृढ हुनेमा अभिभावकहरू ढुक्क देखिन्छन्। नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गर्दै विद्यार्थीको उज्ज्वल भविष्य र समग्र विद्यालय विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

​रामेछापको सुनापती क्षेत्रको शैक्षिक धरोहरको रूपमा रहेको यस विद्यालयले आगामी दिनमा विद्यार्थी र अभिभावकको हितमा निरन्तर उत्कृष्ट कार्य गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २१, शनिबार