FLASH NEWS
  • Loading...

हेटौंडाबाट दुई जना नक्कली परिक्षार्थी समातिए

Post Thumbnail

हेटौंडा : मकवानपुरबाट २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौंडाका दुई छुट्टाछुट्टै स्थानबाट लोकसेवा आयोग र सवारी चालक अनुमति परिचयपत्रको परीक्षामा सम्मिलित २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१ अमर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट लोकसेवा आयोगको परीक्षामा सम्मिलित एक र हेटौंडा–११ थाना भर्‍याङ परीक्षा केन्द्रबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा सहभागी एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

लोकसेवा आयोगको परीक्षामा पक्राउ पर्नेमा हेटौंडा–१ अमर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा सम्मिलित कास्कीको पोखरा–२ का ४२ वर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई रहेका छन् । बस्ताकोटीले उक्त विद्यालय केन्द्रबाट महोत्तरीको साविक पोखभिण्डा गाविसका अभयकुमार यादवको सट्टामा परीक्षामा सहभागी भएका थिए ।

प्रहरीले पक्राउ गरेको बस्ताकोटीको साथबाट ५८ हजार ५०० रुपैंया, अभयकुमार यादवको नामको नागरिक, महोत्तरीका सुजितकुमार साहको नागरिकता, धनुषका हिराकुमारीको नागरिकता, धनुषाकै विनोदकुमार महतोको नागरिकता र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद गरेको छ ।

त्यसैगरी, हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको परीक्षामा सन्तोष गौतम पक्राउ परेका छन् । गौतम आफ्नो बाबुको सट्टामा परीक्षामा सहभागी भएका थिए । मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा मकवानपुरको बकैया–७ का टुकनाथ गौतमको सट्टामा उनकै छोरा सन्तोषले परीक्षा दिएको पाइएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका दुवै व्यक्तिमाथि अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार